चक्रवातको प्रभाव : यी क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको सम्भावना



काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएपछि त्यसको प्रभाव नेपालमा समेत पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै गएको छ। यसको प्रभाव असोज ९, १० र ११ गते विशेष रूपमा देखिने अनुमान गरिएको छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार बागमती प्रदेशभन्दा पश्चिमका क्षेत्रमा यसको प्रभाव बढी पर्ने सम्भावना छ।

विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। ती प्रदेशका एक–दुई स्थानमा भने अतिभारी वर्षा हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। लुम्बिनी प्रदेशको दाङभन्दा पूर्वी भूभाग हुँदै नवलपुरसम्म, कर्णाली प्रदेशको पूर्वी भूभाग तथा सुदूरपश्चिम प्रदेशका दक्षिणी पहाडी र तराई क्षेत्रसमेत वर्षाबाट प्रभावित हुनसक्ने मौसमविद् अर्यालले बताएका छन्।

यस्तै, बागमती प्रदेशको चितवन आसपासका क्षेत्र तथा यसअघि नै बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा समेत विशेष सावधानी अपनाउनुपर्ने महाशाखाले जनाएको छ। ती क्षेत्रमा मध्यम खालको वर्षाले पनि थप जोखिम निम्त्याउन सक्ने बताइएको छ।

यस अवधिमा नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन महाशाखाले सुझाव दिएको छ। नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यस वर्ष मनसुन केही दिन ढिलो बाहिरिन सक्ने महाशाखाको अनुमान छ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार