आशुतोष इनर्जीको ९औँ साधारणसभा सम्पन्न, २८ करोड घाटाबीच १८.९४७ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । लमजुङमा ८.६३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको आशुतोष इनर्जी लिमिटेडको ९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले सेयरधनीलाई १८.९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीका अनुसार हाल कायम ४८ करोड रुपैयाँ चुक्ता पुँजीको १८.९४७ प्रतिशत, अर्थात् ९ करोड ९ लाख ४७ हजार ४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिनेछ।

प्रसारण लाइनमा ढिलाइ हुँदा २८ करोड घाटा

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण पछिल्ला चार आर्थिक वर्षमा कम्पनीले करिब २८ करोड रुपैयाँ घाटा व्यहोरेको छ। आर्थिक वर्ष २०७९/८० मा ५ करोड ९२ लाख, २०८०/८१ मा ८ करोड ६० लाख, २०८१/८२ मा ६ करोड २ लाख र २०८२/८३ मा ५ करोड ४७ लाख रुपैयाँ घाटा भएको कम्पनीले जनाएको छ।

हाल २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको र नेपाल विद्युत् प्राधिकरणसँग गरिएको वैकल्पिक व्यवस्थालाई खारेज गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। यससँगै आगामी दिनमा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने अपेक्षा कम्पनीको छ।

आईपीओ निष्कासनको तयारी

आशुतोष इनर्जीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न दुई वर्षअघि नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको जनाएको छ।

कम्पनीले आगामी योजनाअन्तर्गत २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड आयोजना समेत निर्धारित समयमै निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

आशुतोष इनर्जीले सामाजिक उत्तरदायित्वअन्तर्गत हालै भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोगसमेत उपलब्ध गराएको जनाएको छ।
कम्पनीले चेपे खोलाबाट २०७९ असोज १५ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार