काठमाडौं ।कौटिल्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चाबहिलको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी वर्षको नीति तथा कार्यक्रमलगायत विभिन्न प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिएको छ।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट कार्यवाहक अध्यक्ष दीपक पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा संस्थाको आर्थिक अवस्था, वर्षभरि सञ्चालन गरिएका गतिविधि, सदस्य सेवा तथा आगामी योजनाबारे जानकारी समेटिएको थियो।
त्यसैगरी, संस्थाका कोषाध्यक्ष शशिधर अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा लेखापरीक्षण प्रतिवेदन, वासलात, आय–व्यय विवरण तथा संस्थाको समग्र वित्तीय अवस्थामाथि सदस्यहरूले छलफल गरेका थिए।
सदस्यको हितलाई प्राथमिकता
कोटिल्य बचत तथा ऋण सहकारीले स्थापनाकालदेखि नै सदस्यहरूको आर्थिक आवश्यकतालाई केन्द्रमा राखेर बचत तथा ऋण सेवा प्रदान गर्दै आएको जनाएको छ। सुरक्षित बचत परिचालन, सहज तथा गुणस्तरीय ऋण सेवा र सदस्यकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै संस्थाले आफ्नो सेवा विस्तार गर्दै आएको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
विसं २०५७ साल जेठ १७ गते स्थापना भएको संस्थाले प्रारम्भमा २८ जना सदस्यबाट आफ्नो सहकारी यात्रा सुरु गरेको थियो। हाल संस्थामा सदस्य संख्या उल्लेख्य रूपमा वृद्धि भएको र संस्थामा महिला सदस्यको सहभागिता पनि महत्वपूर्ण रहेको जनाइएको छ।
नीति, बजेट र वित्तीय प्रतिवेदन पारित
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गर्दै आवश्यक निर्णय गरेको छ। साथै चालु आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम, अनुमानित आय–व्यय तथा वार्षिक बजेटमाथि पनि छलफल गरिएको थियो।
सभाबाट आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा समेत निर्णय गरिएको जनाइएको छ।
त्यस्तै, सेयर लाभांश कोषमा रहेको रकमबाट सदस्यहरूलाई लाभांश वितरण गर्ने तथा संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम सदस्यहरूको बचत, ऋण कारोबार वा सेयर पुँजीका आधारमा वितरण गर्ने प्रस्तावमाथि समेत छलफल गरिएको थियो।
सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन प्रक्रिया
साधारणसभामा संस्थाको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनसम्बन्धी प्रक्रिया पनि अघि बढाइएको थियो। संस्थाको विधानअनुसार नयाँ नेतृत्व चयन तथा जिम्मेवारी हस्तान्तरणलाई समेत सभाको महत्वपूर्ण कार्यसूचीका रूपमा समेटिएको थियो।
सभाको समापनमा संस्थाको विकास र प्रगतिमा योगदान पुर्याउने सेयर सदस्य, सञ्चालक समिति, सल्लाहकार तथा कर्मचारीलगायत सम्पूर्णप्रति धन्यवाद व्यक्त गरिएको थियो।
२५ वर्षभन्दा लामो सहकारी यात्रामा सदस्यको हित, सुरक्षित बचत परिचालन र वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै आएको कोटिल्य बचत तथा ऋण सहकारीले आगामी दिनमा सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।















