काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् । उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योग विकास, लगानी सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए । उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति बनाउनुपर्नेमा जोड दिए ।
नाडाको ५० वर्षे यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोड्दै यादवले नेपाललाई अटोमोबाइल प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ विश्व अघि बढिरहेको भन्दै उनले यसलाई नेपालका व्यवसायीले अवसरका रूपमा लिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण उद्योग–व्यवसायको अवस्था कमजोर बनेको बताए । बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल कमजोर रहेको उल्लेख गर्दै उनले अर्थतन्त्रको पुनःसंरचना आवश्यक रहेको बताए । श्रेष्ठले स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिँदै अटोमोबाइल क्षेत्रमा स्पेयर पार्ट्स उत्पादनको सम्भावना खोज्नुपर्ने बताए । साथै, व्यवसाय सञ्चालनका लागि नीतिगत स्थिरता र लगानीमैत्री वातावरण आवश्यक रहेको उनको भनाइ छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा मात्र हेर्न नहुने बताए । उनका अनुसार यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको छ । नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ भने राज्यको राजस्वमा वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान हुँदै आएको छ ।
उप्रेतीले करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले दीर्घकालीन लगानी योजना बनाउन कठिन हुने भन्दै कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे । सवारीसाधनलाई विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्दै नागरिकको आवश्यकताअनुसार कर नीति थप व्यावहारिक र उपभोक्तामैत्री बनाउनुपर्ने उनको भनाइ छ ।
उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए । भृकुटीमण्डपको विद्यमान संरचना पर्याप्त नभएकाले ट्रक, बस तथा हेभी इक्विपमेन्टलगायतका सामग्री पर्याप्त रूपमा प्रदर्शन गर्न नसकिएको उनले बताए । नाडाले विद्युतीय सवारीको बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ । स्वच्छ ऊर्जा, चार्जिङ पूर्वाधार, एसेम्बली तथा अटोमोबाइल कम्पोनेन्ट उत्पादनमा भविष्यमा थप सम्भावना रहेको भन्दै सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको नाडाको भनाइ छ ।








