आइएमई लाइफको नवौं वार्षिकोत्सव : दुर्गम क्षेत्रमा १० थान ‘न्यानो नानी’ बेबी वार्मर वितरण गरिँदै



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै मनाएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा १० थान ‘न्यानो नानी’ बेबी वार्मर वितरण गर्ने भएको छ।

कम्पनीले भदौ १ गते नवौं वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण र बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममार्फत समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए।

उनका अनुसार रक्तदान कार्यक्रमले अस्पतालमा हुने रगत अभाव न्यूनीकरण गर्न, वृक्षारोपणले वातावरण संरक्षणमा योगदान पुर्‍याउन तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई राहत दिन सहयोग गर्नेछ।

यसै अवसरमा आइएमई लाइफ र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको ‘न्यानो नानी’ बेबी वार्मर आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यले दुई संस्थाबीच दीर्घकालीन साझेदारीको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान विस्तार गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए।

‘न्यानो नानी’ समयभन्दा अगावै जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम प्रदान गर्न प्रयोग हुने चिकित्सकीय उपकरण हो। विशेषगरी स्वास्थ्य पूर्वाधार सीमित रहेका तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थाका लागि यो उपकरण उपयोगी हुने अपेक्षा गरिएको छ।

सहकार्यको पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ बेबी वार्मर हस्तान्तरण गरिने कम्पनीले जनाएको छ। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवामा न्यून पहुँच रहेका क्षेत्रका नवजात शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको कम्पनीको भनाइ छ।

सम्बन्धित स्थानीय स्वास्थ्य संस्थाको आवश्यकता र उपयुक्तताका आधारमा उपकरण जडान गरिनेछ। यसबाट दुर्गम क्षेत्रका नवजात शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्नुका साथै आमा–शिशु स्वास्थ्य सेवामा समेत सुधार आउने अपेक्षा कम्पनीले गरेको छ।

सीईओ खड्काले कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको बताए। आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत क्रमशः विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

कम्पनीले जीवन बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने, बीमामार्फत ग्राहकको वित्तीय सुरक्षा बलियो बनाउने तथा राष्ट्रको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
नौ वर्षको यात्रामा सर्वसुलभ पहुँच, छिटोछरितो दाबी भुक्तानी तथा ग्राहकको आवश्यकताअनुसार बीमा समाधानमार्फत विश्वास कायम गर्न सफल भएको कम्पनीको दाबी छ। देशभर फैलिएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत गुणस्तरीय जीवन बीमा सेवा सर्वसाधारणसम्म पुर्‍याउने प्रतिबद्धता कम्पनीले पुनः व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार