काठमाडौं,२भदौ । नेपाल हेभी इक्विपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको विशेष अधिवेशन–२०८३ मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले सन्तोष श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
संघका अध्यक्ष सन्तोषकुमार श्रेष्ठको अध्यक्षता तथा संघीय प्रतिनिधिसभाका सांसद धर्मेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा हेभी इक्विपमेन्ट अपरेटरहरूको पेशागत हित, श्रम अधिकार, सुरक्षा तथा पूर्वाधार विकासमा उनीहरूले पुर्याउँदै आएको योगदानका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा उत्कृष्ट जिल्ला तथा प्रदेश संघ, चालक, आजीवन सदस्य तथा पूर्वअध्यक्षलगायतलाई सम्मानसमेत गरिएको थियो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सन्तोष श्रेष्ठ (बाग्मती), प्रथम उपाध्यक्षमा प्रेमबहादुर थापा (गण्डकी), वरिष्ठ उपाध्यक्षमा एकराज भण्डारी (कर्णाली), महिला उपाध्यक्षमा अस्मिता परियार (बाग्मती), महासचिवमा नवीन आले मगर (सुदूरपश्चिम), कोषाध्यक्षमा शिव न्यौपाने (लुम्बिनी) र उपमहासचिवमा किशोर गौतम (गण्डकी) सर्वसम्मत चयन भएका छन्।
अधिवेशनमा अध्यक्ष श्रेष्ठले एउटा जिल्लाबाट सुरु भएको संघ अहिले ६३ जिल्लासम्म विस्तार भएको जानकारी दिँदै हेभी इक्विपमेन्ट अपरेटरलाई एकताको सूत्रमा बाँधेर उनीहरूका पेशागत तथा श्रमसम्बन्धी समस्या समाधानका लागि निरन्तर आवाज उठाउँदै आएको बताए। उनले हेभी इक्विपमेन्ट चालक तथा अपरेटरहरू देशको पूर्वाधार विकासका महत्वपूर्ण आधार रहेको उल्लेख गरे।
केही कार्यसमितिका सदस्य वैदेशिक रोजगारीमा गएकाले विशेष अधिवेशन गर्नुपरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनले सातै प्रदेशका उत्कृष्ट जिल्ला संघ, उत्कृष्ट प्रदेश संघ, चालक, आजीवन सदस्य तथा पूर्वअध्यक्षलगायतलाई सम्मान गरिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले व्यवसायी तथा अपरेटरका समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। समस्यामा परेका व्यवसायी तथा अपरेटरलाई कानुनी दायरामा रहेर आवश्यक सहयोग गरिने बताउँदै उनले समस्या र समाधानका उपायसहित लिखित सुझाव पेश गर्न संघलाई आग्रह गरे।
विशेष अतिथि सांसद धर्मेन्द्र कार्कीले आफू पनि लामो समयदेखि यातायात व्यवसायमा संलग्न रहेकाले अपरेटर तथा व्यवसायीका समस्या नजिकबाट बुझेको बताए। उनले भौतिक पूर्वाधार विकासका संवाहकका रूपमा रहेका अपरेटरलाई राज्यले विशेष प्रोत्साहन र सुविधा उपलब्ध गराउनुपर्ने भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
संविधानसभा सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष विनोद श्रेष्ठले हेभी इक्विपमेन्ट अपरेटरले व्यहोर्दै आएको जोखिमको उचित मूल्यांकन हुन नसकेको बताए। प्राविधिक सीप र ठूलो जिम्मेवारी बोकेका अपरेटरलाई विकासको साझेदारका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा उनले जोड दिए। साथै, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, रोजगारीको स्थायित्व तथा प्रविधिअनुसार सीप अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले पूर्वाधार निर्माण तथा यातायात क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अपरेटरको कामको स्थायित्व, नियुक्तिपत्र, उचित पारिश्रमिक र कार्यस्थल सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताए।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्माले पूर्वाधार विकासका आयोजना दिगो र वातावरणमैत्री हुनुपर्नेमा जोड दिए। पहाड, नदी र प्रकृति जोगाउँदै विकास निर्माण अघि बढाउनुपर्ने बताउँदै उनले हेभी इक्विपमेन्ट अपरेटरको योगदानलाई राज्यले उचित रूपमा स्वीकार गर्नुपर्ने बताए।
त्यस्तै, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले श्रमिकका हकहितसँग सम्बन्धित कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।
विशेष अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएपछि संघले अपरेटरका पेशागत अधिकार, श्रम सुरक्षा, सामाजिक सुरक्षा, उचित पारिश्रमिक तथा सीप विकासका विषयलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ। नयाँ कार्यसमितिका पदाधिकारीलाई कार्यक्रममा बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको थियो।







