वैदेशिक रोजगार व्यवसायीको आन्दोलन फिर्ता, श्रमिक पठाउने अवरोध टर्‍यो



काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयसँगको छलफलपछि संघले दबाबमूलक कार्यक्रम अन्त्य गर्ने सहमति जनाएको हो।

संघले साउन २२ देखि १५ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको थियो। भदौ ७ गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन रोक्ने चेतावनीसमेत दिएको थियो।

मन्त्रालयका अनुसार संघका अधिकांश माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित छन्। मन्त्रालयले ऐन तथा नियमावली संशोधन प्रक्रिया शीघ्र टुंग्याउन पहल गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, व्यवसायीले थप प्रमाण र कागजातसहित समस्या विभागमा पेस गरे प्रशासनिक सहजीकरण गरिने र विभागबाट समाधान नभए मन्त्रालयमा पुनरावेदन गर्न सकिने विषयमा पनि छलफल भएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार