‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको दाबी



काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य दबाबलाई थप आक्रामक बनाउँदै रणनीतिक महत्वको होर्मुज स्ट्रेटलाई अमेरिकाको भूभाग घोषणा गर्ने दाबी गरेका छन्। ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि यस्तो घोषणा गर्ने बताएका हुन्।

न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै ट्रम्पले इरानमाथि अमेरिकाको नियन्त्रण स्थापित भइसकेको दाबी गरे। उनले होर्मुज स्ट्रेटबाट आफ्नो अनुमति बिना कुनै पनि जहाज आवतजावत गर्न नसक्ने बताए।

‘इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै होर्मुज स्ट्रेटलाई संयुक्त राज्य अमेरिकाको भूभाग घोषणा गर्नेछु,’ ट्रम्पले कार्यक्रममा भने।

ट्रम्पको उक्त भनाइ सार्वजनिक भएपछि ह्वाइट हाउसले भने त्यसलाई गम्भीर नीतिगत घोषणा नभएको संकेत गरेको छ। वाल स्ट्रिट जर्नलका अनुसार ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पले उक्त टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पारेका छन्।

तर इरानले भने ट्रम्पको अभिव्यक्तिको तत्काल प्रतिवाद गरेको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत होर्मुज स्ट्रेटमाथि इरानको अधिकार रहेको दाबी दोहोर्‍याएका छन्।

उनले होर्मुज स्ट्रेट ‘इरानी थियो, इरानी हो र इरानी नै रहनेछ’ भन्दै यसको सञ्चालन तथा बन्द–खुला गर्ने विषय इरानको निर्णयमा निर्भर रहने बताएका छन्।

मध्यपूर्वमा अमेरिका र इजरायलको सैन्य कारबाहीपछि इरानसँगको तनाव थप चर्किएको हो। फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु भएपछि तेहरानले जवाफी कदम चाल्दै होर्मुज स्ट्रेटको ठूलो हिस्सामा आफ्नो प्रभाव कायम गरेको दाबी गरिएको छ।

विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये पर्ने होर्मुज स्ट्रेटमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमाथि समेत असर पर्न सक्ने चिन्ता बढेको छ। उक्त जलमार्गबाट विश्व बजारमा ठूलो परिमाणमा तेल तथा ग्यास आपूर्ति हुँदै आएको छ।

यसैबीच, इरानले अधिकांश नागरिक जहाजको आवागमनमा प्रतिबन्ध लगाएको दाबी गरिएको छ भने अमेरिकी नौसेनाले इरानमाथि दबाब बढाउँदै जलमार्गमा नाकाबन्दी गरेको बताइएको छ।

कार्यक्रममा ट्रम्पले अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाइसकेको दाबी गर्दै आफ्नो इच्छाविपरीत कुनै पनि जहाजलाई उक्त जलमार्गबाट अघि बढ्न नदिइने बताएका छन्।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले होर्मुज स्ट्रेटलाई लिएर अमेरिका र इरानबीचको विवादलाई थप राजनीतिक तथा रणनीतिक रूपमा पेचिलो बनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार