दिल्लीको जन्तर-मन्तरमा बिहानैदेखि चर्कियो प्रदर्शन, थप २० कम्पनी प्रहरी बल बंगालबाट दिल्ली लगिँदै



dilli

केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘ककरोच जनता पार्टी’ (सिजेपी) ले दिल्लीको जन्तर-मन्तरमा सुरू गरेको आन्दोलन बुधबार झनै चर्किएको छ। बुधबार बिहानैदेखि हजारौंको संख्यामा प्रदर्शनकारीहरू जन्तर-मन्तरमा भेला भएका छन्। माग पूरा नभए लाखौँ मानिस सडकमा उत्रिने चेतावनी सिजेपीले दिएको छ।

आन्दोलनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले संसद भवन र रफी मार्ग लगायतका प्रमुख क्षेत्रमा कडा ब्यारिकेड लगाएको छ। सिजेपीको आन्दोलन र विभिन्न राजनीतिक दलहरूको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सिआरपिएफ) का थप २० कम्पनी दिल्लीमा तैनाथ गर्न आदेश दिएको छ।

सिआरपीएफको एक कम्पनीमा करिब १०० जना जवान हुन्छन्। गृह मन्त्रालयले मंगलबार राति जारी गरेको आपतकालीन आदेशपछि पश्चिम बंगालबाट सिआरपीएफका जवानहरूलाई हवाईजहाजमा राजधानी दिल्ली ल्याउने क्रम सुरू भएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार