टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०८३ असार २७–२८ गते हुने



काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) अन्तर्गत काठमाडौं उपत्यका विशेष समिति (केभीएससी) र बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा ‘टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०८२’ आयोजना हुने भएको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिता आगामी असार २७ र २८ गते जगडोल–४, गोकर्णेश्वरस्थित गेटवे एड्भेन्चर हब क्लाइम्बिङ सेन्टर मा सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगिताको उद्घाटन असार २७ गते बिहान ९ बजे तथा पुरस्कार वितरण असार २८ गते साँझ ४ बजे गरिने जनाइएको छ।

प्रतियोगितामा टप रोप क्लाइम्बिङ र लिड क्लाइम्बिङ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। टप रोपतर्फ दर्ता शुल्क रु. ५०० तथा लिड क्लाइम्बिङतर्फ रु. २,५०० निर्धारण गरिएको छ। टप रोप विधा विशेषगरी नयाँ तथा शुरुआती खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खुला गरिएको आयोजकले जनाएको छ भने लिड क्लाइम्बिङ पुरुष तथा महिला खुला प्रतिस्पर्धाका रूपमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन नेपाली नागरिक र १७ वर्ष वा सोभन्दा माथिका खेलाडी योग्य हुनेछन्।

आयोजकका अनुसार कुनै क्लाइम्बिङ वाल, क्लाइम्बिङ क्लब वा सम्बन्धित संस्थाको सिफारिसपत्र तथा प्रशिक्षक (कोच) को नाम र सम्पर्क विवरण पेश गर्ने खेलाडीलाई लिड क्लाइम्बिङतर्फ दर्ता शुल्कमा रु. ५०० छुट प्रदान गरिनेछ।

पुरस्कारतर्फ टप रोप क्लाइम्बिङका विजेताले प्रथम रु. १० हजार, द्वितीय रु. ८ हजार र तृतीय रु. ५ हजार प्राप्त गर्नेछन्। त्यसैगरी लिड क्लाइम्बिङतर्फ प्रथम रु. ५० हजार, द्वितीय रु. ३० हजार र तृतीय रु. २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। साथै उत्कृष्ट प्रदर्शन गर्ने १० जना खेलाडीलाई विशेष प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ।

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनद्वारा यसअघि आयोजना गरिएका आधिकारिक प्रतियोगितामा सहभागिता जनाइसकेका खेलाडीले टप रोप विधामा प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गरिएको छ। नियम उल्लङ्घन गरी सहभागी भएको पाइएमा सम्बन्धित खेलाडीको नतिजा स्वतः अमान्य हुने आयोजकले स्पष्ट पारेको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा क्लाइम्बिङ खेलको विकास र विस्तार गर्नुका साथै नयाँ प्रतिभाको पहिचान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन तथा युवालाई साहसिक र स्वस्थ खेल गतिविधितर्फ आकर्षित गर्नु रहेको छ। साथै क्लाइम्बिङ खेललाई ओलम्पिक स्तरसम्म विकास गर्न प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार