विशेष लडाकुको साहस झल्काउँदै नेपाली सेनाको र्‍याप गीत ‘रेन्जर’ सार्वजनिक



काठमाडौं — नेपाली सेनाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत ‘रेन्जर’ बोलको र्‍याप गीत सार्वजनिक गरेको छ। गीतमार्फत सेनाका विशेष तालिमप्राप्त लडाकु ‘रेन्जर’को साहस, अनुशासन र समर्पणलाई प्रस्तुत गरिएको छ।

नेपाली सेनामा ‘रेन्जर’ भन्नाले कठिन परिस्थितिमा विशेष सैन्य अभियान सञ्चालन गर्न सक्षम, उच्चस्तरीय तालिम प्राप्त सैनिकलाई जनाइन्छ।

तीन दिनअघि सार्वजनिक गरिएको उक्त गीतले दर्शकको उल्लेखनीय ध्यान आकर्षित गरेको छ। आइतबार मध्याह्नसम्म गीतलाई २६ हजारभन्दा बढी पटक हेरिएको छ।

गीतका शब्द प्रताप मगरले लेखेका हुन्। बासुदेव धिमाल मुख्य निर्देशक तथा सिद्धार्थ मोक्तान सहायक निर्देशकका रूपमा रहेका छन्।

नेपाली सेनाले पछिल्ला वर्षहरूमा आधुनिक प्रस्तुति र सिर्जनात्मक माध्यममार्फत आफ्नो पेशागत क्षमता, संगठनात्मक मूल्य र सैनिक जीवनशैलीलाई आमजनसमक्ष प्रस्तुत गर्दै आएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार