हुम्ला । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या हुम्लाको सिमकोटमा बढ्न थालेको छ।
सिजन सुरु भएको चार दिनमै नेपालगन्जबाट हवाईमार्ग हुँदै सिमकोट–हिल्सा नाका भएर चीनतर्फ जाने १६९ जना तीर्थयात्री सिमकोट आइपुगेका छन्। सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहका अनुसार तीमध्ये १४७ जना भारतीय र २२ जना अन्य देशका नागरिक रहेका छन्।
प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै समिट एयरका तीन उडानमार्फत ४७ जना तीर्थयात्री सिमकोट पुगेका छन्। तीमध्ये २३ जनाले कैलाश मानसरोवर यात्राको अनुमति (परमिट) नपाएकाले सिमकोटमै बस्नुपरेको छ।
गत चैत २१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले परमिट जारी हुन ढिलाइ भएको बताइएको छ।
गत वर्ष चीनले हिल्सा नाकाबाट भारतीय पर्यटकलाई कैलाश मानसरोवर यात्रा गर्न अनुमति दिएपछि चार महिनाको अवधिमा ६ हजार ५०० भारतीय तीर्थयात्रीले धार्मिक यात्रा गरेका थिए। यस वर्ष भने वैशाख ३० गते पहिलोपटक तीर्थयात्री सिमकोट आइपुगेका हुन्।






