होटल व्यवसायी महासंघ नेपालको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न



काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल (HPFN) द्वारा आयोजित नवनिर्वाचित कार्यसमितिको प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वैशाख २६ गते काठमाडौंको गौशालास्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित कार्यक्रममा महासंघका पदाधिकारी, होटल व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालको आतिथ्यता तथा पर्यटन क्षेत्रको सुदृढीकरण, व्यवसायिक एकता, विकास र भावी रणनीति निर्माणलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसायमैत्री बनाउन महासंघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

महासंघले देशभरका साना, मझौला तथा ठूला होटल व्यवसायीहरूको साझा हितका लागि कार्य गर्दै आएको बताउँदै आगामी दिनमा व्यवसायीहरूको हकहित संरक्षण, पर्यटन प्रवर्द्धन तथा नीति निर्माणमा महासंघको भूमिका अझ प्रभावकारी बनाइने जनाएको छ। कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि होटल तथा पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा होटल व्यवसायीबीच आपसी सहकार्य, व्यवसायिक एकता तथा पर्यटन क्षेत्रको दीर्घकालीन विकासका विषयमा समेत छलफल भएको थियो। महासंघले आगामी दिनमा होटल व्यवसायीहरूको क्षमता अभिवृद्धि, तालिम, नीति संवाद तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार