थापाथली सुकुम्बासी बस्तीमा बस्ने ३६ जनासँग काठमाडौँ र ललितपुरमा जग्गा भेटियो



काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने कतिपय व्यक्तिहरूको अन्यत्र जग्गा रहेको तथ्य फेला परेको छ। प्रारम्भिक अध्ययनअनुसार ३६ जनाभन्दा बढी व्यक्तिको नाममा काठमाडौँ, ललितपुर, भक्तपुरसहित विभिन्न जिल्लामा जग्गा देखिएको हो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा गरेको अध्ययनले काठमाडौँ उपत्यकाका नदीकिनारमा ३४९६ अव्यवस्थित बसोबासी रहेको देखाएको थियो, जसमध्ये २२४५ काठमाडौँमै छन्।

सरकारले शनिबारदेखि थापाथलीलगायत उपत्यकाका नदीकिनारमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने तयारी गरेको छ। काठमाडौँ महानगरपालिकाका अनुसार प्रभावितलाई अस्थायी रूपमा अन्यत्र स्थानान्तरण गर्ने योजना बनाइएको छ, तर विस्तृत कार्ययोजना सार्वजनिक गरिएको छैन।

यसबीच, प्रमाणीकरण नगरी र वैकल्पिक व्यवस्था सुनिश्चित नगरी बस्ती हटाउन लागिएको भन्दै केही समूहले आपत्ति जनाएका छन्। तर, भूमि व्यवस्थापन तथा अभिलेखसम्बन्धी विवरणले भने बस्तीमा बस्ने केही व्यक्तिको नाममा अन्यत्र जग्गा रहेको देखाएको छ।

भूमिसम्बन्धी ऐनअनुसार नेपालभित्र कुनै पनि स्थानमा आफ्नै वा सगोलमा जग्गा भएमा व्यक्तिलाई भूमिहीन सुकुम्बासीका रूपमा मान्यता दिइँदैन। सरकारले अब वास्तविक सुकुम्बासीको पहिचान गरी पुनर्वासको व्यवस्था गर्ने र अवैध अतिक्रमण हटाउने नीति अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार