बागमतीका मुख्यमन्त्री र प्रमुख सचिवबीच नोकझोक



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख सचिव बाबुराम अधिकारीबीच झन्डै तीन महिनादेखि बोलचाल बन्द भएको खुलेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एउटै भवनमा कार्यकक्ष भए पनि उनीहरूबीच भेटघाटसमेत नभएको स्रोतले जनाएको छ ।

३० पुस २०८२ मा मन्त्रिपरिषद्ले ३२ वटा आयोजनालाई बहुवर्षीय ठेक्का सहमति दिने निर्णय गरेको थियो । तर कानुनी आधार, बजेट विनियोजन र आवश्यक कागजात अपुग रहेको भन्दै प्रमुख सचिव अधिकारीले उक्त निर्णय प्रमाणीकरण गर्न अस्वीकार गरेका थिए ।

मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को अधिकार देखाउँदै निर्णय कार्यान्वयन गर्न दबाब दिएका थिए भने अधिकारीले विधि र मापदण्डअनुसार निर्णय अघि बढाउन नसकिने अडान लिएका थिए । यही विषयमा १९ माघमा भएको बैठकमा दुवैबीच चर्काचर्कीसमेत भएको स्रोतको दाबी छ ।

विवादपछि माघ र फागुनमा मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेन । सरकारका प्रवक्ताले भने मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद नभएको दाबी गर्दै बहुवर्षीय ठेक्काको विषय आगामी बजेटमार्फत सम्बोधन गरिने बताएका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार