काठमाडौँ, २४ चैत । काठमाडौँ फोटोग्राफर संघ (KPA) ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान, चियापान तथा वार्षिक भित्ते पात्रो (KPA Calendar 2083) विमोचन कार्यक्रम सम्पन्न गरेको छ।
मंगलबार नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा संघका अध्यक्ष आनन्द प्रभाकर धिमिरेको सभापतित्व तथा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सल्लाहकारहरू मञ्जु कुमार श्रेष्ठ, रत्नमान आश्रु र राजभाई सुवाल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसैगरी पूर्व अध्यक्षहरू मोती बहादुर बोगटी, डिगम्बर राजवंशी, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे लगायत संघका पदाधिकारी, सदस्य तथा फोटोग्राफी क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सचिव कालिका प्रसाद रिमालले गरेका थिए भने उपाध्यक्ष हरि ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। बासुदेव धिमिरे संयोजक रहेको कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, सहयोगी संस्थाका प्रतिनिधि तथा फोटोग्राफरहरूले संयुक्त रूपमा भित्ते पात्रो विमोचन गरेका थिए।
कार्यक्रममा वक्ताहरूले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै फोटोग्राफी पेशाको मर्यादा र पेशागत हकहितका लागि संघले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। कार्यक्रम चियापानसहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।





