सात महिनापछि बोलाइयो बागमती प्रदेशसभा बैठक



हेटौंडा । बागमती प्रदेश सरकारले करिब सात महिनापछि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन २४ चैत मंगलबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको अधिवेशन आह्वान प्रक्रिया अघि बढाइएको जानकारी दिए। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन बोलाउने व्यवस्था छ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा जुटिरहेको छ। बागमती प्रदेशसभाको पछिल्लो बैठक १७ भदौ २०८२ मा बसेको थियो भने ३ मंसिरमा १६औं अधिवेशन अन्त्य गरिएको थियो। उक्त अधिवेशनमा जम्मा २४ बैठक मात्रै बसेको प्रदेशसभा सचिवालयले जनाएको छ।

जेनजी आन्दोलनका कारण सभाहलमा क्षति पुगेपछि बैठक हेटौंडा उपमहानगरपालिका–२ स्थित अस्थायी सभाहलबाट सञ्चालन गरिने भएको छ। मर्मतसम्भारका लागि करिब २ करोड रुपैयाँ खर्च गरिएको जनाइएको छ।

यसैबीच, सभामुख पद लामो समयदेखि रिक्त छ। तत्कालीन सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपछि पद खाली रहेको हो। उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाइएको थियो। अब नयाँ सभामुख चयनका लागि सत्ता गठबन्धन र विपक्षी दलबीच दाबी–प्रतिदाबी चलिरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार