सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको दबाब



ललितपुर  । ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभापति गगन कुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन्। बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्।

विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका लागि गगन कुमार थापा नै एक मात्र योग्य व्यक्तित्व भएको दाबी गरिएको छ।

जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्ण रूपमा नकार्दै पार्टी सुदृढीकरणका लागि नेतृत्वको निरन्तरता आवश्यक रहेको बताएका छन्। यसरी ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन रहेका छन्।

त्यस्तै महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर के.सी, गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन तथा कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेले पनि सामूहिक रूपमा सभापति थापालाई नेतृत्व सम्हाल्दै पार्टीलाई अघि बढाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार