मध्यपश्चिम क्षेत्रका हुम्ला, बैतडी र बागलुङसहितका उच्च पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ। हुम्लाको सदरमुकाम सिमकोट तथा उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा हिजो बेलुकादेखि निरन्तर हिमपात भइरहेको छ।
यस्तै बैतडीका उच्च क्षेत्र सिगास, खोडपे, अनारखोली र ढोल्यामोडमा पनि हिमपात भएको छ। माघ महिनायता दोस्रो पटक राम्रो हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिने आशा बढेको स्थानीय राजबहादुर टेरले जानकारी दिनुभयो।
उता बागलुङको ढोरपाटन उपत्यकासहित उच्च पहाडी क्षेत्रमा गएरातिदेखि बाक्लो हिउँ परेको छ। हिमपातले ढोरपाटन र आसपासका क्षेत्र सेताम्मे बनेका छन्। ढोरपाटनसँगै निसीखोलाका रिग, पातीहाल्ने, खानीखोला र निसेलढोर क्षेत्रमा पनि हिमपात भएको छ।
यद्यपि अत्यधिक चिसो बढेपछि ती क्षेत्रमा दैनिक जनजीवन प्रभावित बनेको छ।
प्रकाशित मिति : २०८२ माघ १५ गते बुधवार






