जोरपाटी बचत तथा ऋण सहकारीको २०औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । जोरपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा २०८२ साल पुस १२ गते शनिबार काठमाडौंको जोरपाटीस्थित छिमेकि पार्टी प्यालेसमा सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गरिएको छ।

जोरपाटी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य–मैत्री सेवा विस्तार, वित्तीय सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राख्दै उल्लेखनीय प्रगति गरेको जनाएको छ। संस्थाले मोबाइल बैंकिङ, एसएमएस सेवा, छिटोछरितो कर्जा प्रवाह तथा सूचना प्रविधिको प्रयोगमार्फत सदस्यहरूलाई प्रभावकारी सेवा प्रदान गरिरहेको छ।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा कुल बचत तथा कर्जा लगानीमा वृद्धि भएको छ भने खराब कर्जा न्यूनीकरणमा पनि सुधार देखिएको छ। सहकारी ऐन तथा नियामक निकायको निर्देशनअनुसार वित्तीय नीति अवलम्बन गरिँदा संस्थाको वित्तीय सन्तुलन कायम रहेको उल्लेख गरिएको छ।

संस्थाले सुशासन, आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र बीमा व्यवस्थालाई प्रभावकारी बनाउँदै कर्मचारी तथा कार्यालय व्यवस्थापनलाई समेत सुदृढ गरेको जनाएको छ। आगामी दिनमा पारदर्शिता, उत्तरदायित्व र सदस्य सेवामा थप सुधार गर्दै संस्था अझ सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

साधारणसभाले नाफा वितरण, आन्तरिक नीति तथा कार्यविधि संशोधन, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको चयन, सदस्य अन्य सहकारी संस्थामा गाभिने/गाभिने सम्बन्धी प्रस्ताव, लेखा परीक्षण फर्म नियुक्तिलगायतका महत्वपूर्ण विषयमा निर्णय गरेको छ।

सभामा संस्थाले विगत वर्ष चुनौतीपूर्ण आर्थिक अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तरता दिँदै सदस्यको विश्वास कायम राख्न सफल भएको उल्लेख गरिएको थियो। वित्तीय अनुशासन, प्रविधिको प्रयोग तथा सामाजिक उत्तरदायित्वमा जोड दिँदै संस्थाको प्रगति, उपलब्धि र भावी कार्यदिशा वार्षिक प्रतिवेदनमार्फत प्रस्तुत गरिएको थियो।

संस्थामा महेश आचार्यज्यूको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ। साधारणसभामा उपस्थित शेयर सदस्यहरूले संस्थाको कार्यसम्पादनप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा सहकारीलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजान सुझाव दिएका थिए।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार