काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको एकताको प्रस्ताव अस्वीकार गरेको छ। शनिबार काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्तावमा अघि नबढ्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावबारे पार्टी संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा ब्रिफिङ गर्नुभएको थियो।
तर प्रस्तावमा सहमति हुन नसकेपछि बाँकी संवाद अगाडि बढाउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिने निर्णय गरिएको बैठक स्रोतले जनाएको छ। पार्टीको नाम र चुनाव चिन्हबारे पनि उज्यालो नेपाल पार्टीले फरक मत राखेको छ। रास्वपाले पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै कायम राखेर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो।
उज्यालो पार्टीले ती विषयमा पुनर्विचार आवश्यक रहेको अडान लिएको छ। पार्टीले निर्णय सार्वजनिक गर्दै सहअस्तित्वलाई मुख्य आधार बनाउँदै एकताको पक्षमा रहेको स्पष्ट पारेको छ।
पार्टी निर्णयमा भनिएको छ, “सबैको सहअस्तित्व स्थापित हुने गरी उज्यालो नेपाल पार्टी सदैव एकताको पक्षमा रहँदै आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरियो।”
यसअघि आजै काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा संरक्षक घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने धारणा व्यक्त गर्नुभएको थियो।






