गोदावरी नगरपालिकाको भ्रष्टाचार मुद्दा : अख्तियारद्धारा सर्वोच्चमा पुनरावेदन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ भएपछि सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५–०७६ देखि ०७९–०८० सम्म पाँच वर्षमा ढुंगागिट्टी उत्खनन तथा निकासीको राजस्व निर्धारणमा मिलेमतो गरी १ अर्ब ४ करोड ८७ लाख रुपैयाँभन्दा बढी राजस्व हिनामिना गरिएको छ। संविधान, संघीय तथा प्रदेश आर्थिक ऐन र स्थानीय सरकार सञ्चालन ऐनको बेवास्ता गर्दै कम दरमा राजस्व तोकिएको आयोगको दाबी छ।

विशेष अदालतले २०८१ साउन ३० मा सबै प्रतिवादीलाई सफाइ दिएपछि आयोगले तथ्य, प्रमाण र कानुनी आधारसहित सर्वोच्चमा पुनरावेदन गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र चुहावट भएको रकमको दोब्बर जरिवाना माग गर्दै मुद्दा अघि बढाएको छ।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार