काठमाडौं । बंगलादेशमा भारतीय उच्चायोगको कार्यालय अगाडि प्रदर्शन भएको छ । जुलाई युनिटीको ब्यानरमा भएको प्रदर्शनमा सयौं मानिस सहभागी भएका हुन् । जुलाई २०२४ मा भएको आन्दोलनमा दमन गरेको आरोप लागेकी पूर्वप्रधामन्त्री शेख हसिनालाई भारतले सुम्पिनुपर्ने, भारतीय हस्तक्षेप रोकिनुपर्ने लगायतको माग गर्दै प्रदर्शन भएको छ ।
ढाकाको गुलशनस्थित भारतीय उच्चायोगतर्फ अघि बढेको प्रदर्शनलाई प्रहरीले ब्यारिकेड लगाएर रोकेको बंगलादेशी समाचार संस्था द डेलीस्टारले जनाएको छ । सो क्रममा ब्यारिकेड पल्टाएर प्रदर्शनकारी अघि बढ्न खोज्दा प्रहरीसँग झडप समेत भएको छ ।
बुधबार स्थानीय समय अनुसार दिउँसो ३:१५ बजे प्रदर्शन सुरु हुनु अघि रामपुरा पुल क्षेत्रमा भेला भएका थिए । प्रदर्शन अपरान्ह ४ बजे उत्तर बड्डा पुग्दा प्रहरीले ब्यारिकेड खडा गरेर अघि बढ्न दिएको थिएन । प्रहरीले रोकेपछि प्रदर्शनकारी सडकमै बसेर नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीले ‘दिल्ली होइन, ढाका ढाका ढाका’ नारा लगाएका थिए । ढाकामा प्रदर्शन सुरु हुनुअघि भारतीय विदेश मन्त्रालयले बुधबार नै दिल्लीस्थित बंगलादेशी उच्चायुक्तलाई बोलाएर ढाकामा आफ्नो सुरक्षा चासोबारे अवगत गराएको थियो ।
बंगलादेशमा भारतीय हस्तक्षेप बढेको भन्दै केही समूहले पछिल्लो समय त्यहाँ विरोध चर्काउन थालेका छन् । बंगलादेशमा सन् २०२४ को अगस्ट–जुलाईमा भएको प्रदर्शनपछि हसिना नेतृत्वको सरकार ढलेको थियो । आरक्षण (कोटा) प्रथाको विरोध गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलन सरकारी दमन बढ्दै गएपछि देशव्यापी बनेको थियो ।





