काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्। कार्यतालिका अनुसार निर्वाचन कार्यक्रम सोमबार बिहान ७ बजेदेखि सुरु हुनेछ।
सोमबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी–विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। दाबी–विरोधको सूचना साढे ९ बजे प्रकाशन हुनेछ भने बिहान १० बजे दाबी–विरोधमाथि छानबिन गरिनेछ।
त्यसपछि सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ। सोमबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरिनेछ।
यसैबीच, पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युतीय मतदानमार्फत निर्वाचन हुने तय गरिएको छ।






