अस्ट्रेलियामा ‘सेकुवा पसल’ चलाएर नेपालमा जागिर खाँदै पशु चिकित्सक, कीर्ते हाजीरले हंगामा



काठमाडौं । सरकारी सेवामा कार्यरत कर्मचारीले कार्यालयमै उपस्थित भएर दैनिक हाजिर गर्नुपर्ने कानुनी व्यवस्था छ। तर पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.नवीन उपाध्याय घिमिरेको हकमा भने यो नियम उल्टो परेको खुलासा भएको छ।

अस्ट्रेलियामा बसेरै ललितपुरस्थित विभागमा जागिर खाइरहेको तथ्य बाहिरिएपछि विभागभित्रकै मिलेमतोबारे गम्भीर शंका उब्जिएको छ।

अस्ट्रेलियाबाट नफर्कँदै ११ दिन ‘हाजिर’
अध्यागमन विभागका अनुसार कर्मचारी संकेत नम्बर १९४४९२ भएका डा.घिमिरे ०८१ चैत २८ गते बिहान सिचुवान एयरमार्फत अस्ट्रेलिया प्रस्थान गरेका थिए। बिदा लिएर गएका उनी त्यसयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्ग भएर नेपाल फर्किएको कुनै पनि रेकर्ड भेटिएको छैन।

तर विभागका महानिर्देशक डा. राम नन्दन तिवारीका अनुसार उनी ०८२ असार २९ देखि साउन ९ गतेसम्म कार्यालयमा ‘हाजिर’ भएको देखिन्छ। ती ११ दिनको हाजिरीमा फरक–फरक हस्ताक्षर भेटिनु शंकालाई झन् बलियो बनाउने अर्को आधार बनेको छ।

यसअघि ०८२ वैशाख २ देखि असार २७ गतेसम्म भने उनको हाजिरी कापी पूर्णतः खाली छ।

‘हाजिर भएको देखिन्छ, तर देखिएको छैन’
महानिर्देशक तिवारीले हाजिरी कापीमा नाम देखिए पनि आफूले डा. घिमिरेलाई कार्यालयमा भेट्न नसकेको स्वीकार गरेका छन्। अन्य कर्मचारीले पनि हाजिर भएको दिन उनी कहिल्यै नदेखिएको बताएका छन्।

तिवारीका अनुसार डा. घिमिरेले साउन ११ देखि भदौ १ गतेसम्मको घर तथा बिरामी बिदा इमेलमार्फत पठाएका थिए, जसलाई विभागले स्वीकृत गरेको छ। तर हाल उनी भदौ २ गतेदेखि ९९ दिनदेखि निरन्तर अनुपस्थित रहेको प्रशासन शाखाले जानकारी दिएको छ।

नियमविपरीत गैरहाजिरी, तिवारीको भूमिकामा प्रश्न
निजामती सेवा ऐनअनुसार लगातार ९० दिनभन्दा बढी कारण नबताई अनुपस्थित रहने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था छ। विभाग स्रोतका अनुसार यही व्यवस्थाबाट बचाउन महानिर्देशककै मिलेमतोमा डा. घिमिरेको हाजिरी ‘मिलाइएको’ आशंका गरिएको छ।

गत असारसम्म विभागमा हाजिरी म्यानुअल रूपमा महानिर्देशकको सचिवालयमा राखेर गरिँदै आएको थियो, जसले हस्ताक्षर मिलावटको सम्भावना झन् बढाएको स्रोतको भनाइ छ। तर महानिर्देशक तिवारीले आफू कुनै पनि प्रकारको संलग्नतामा नरहेको दाबी गरेका छन्।

‘नेपाल आएर हाजिर गरेको हो’—डा. घिमिरे
भेट टाइम्स मासिकसँगको सम्पर्कमा आएका डा. घिमिरेले भने आफू अस्ट्रेलियाबाट बीचमा आमा लिन नेपाल आएको र सोही अवधिमा करिब ९–१० दिन स्कुटर चढेर कार्यालय पुगेको दाबी गरेका छन्। ह्वाट्सएप मार्फत महानिर्देशकलाई आफू आएको जानकारी गराएको पनि उनले बताए।

अस्ट्रेलियामा ‘बाजेको सेकुवा’ सञ्चालन
नेपालमा स्थायी सरकारी सेवा पाउँदै आएका डा. घिमिरे केही वर्षदेखि परिवारसहित अस्ट्रेलियामा बस्दै आएका छन्। त्यहाँ उनी ‘बाजेको सेकुवा’को मेलबर्न शाखा सञ्चालन गर्छन् र सामाजिक सञ्जालमार्फत नियमित प्रचार–प्रसार पनि गर्छन्।

यस प्रकरणले सरकारी सेवामा हाजिरी प्रणाली, प्रशासनिक समन्वय र आन्तरिक नियमनका कमजोरी उजागर गरेको छ। विभागीय छानबिन नहुँदासम्म यो विवाद झन् गहिरिँदै जाने देखिन्छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बुधवार