काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली पुग्दै छन्। उनको आगमनलाई लक्षित गरी सुरक्षा कडा पारिएको छ।
पुटिन भारतीय समयअनुसार विहीबार अपराह्न ४ बजे दिल्ली पुग्नेछन । शुक्रवार आयोजना हुने २३ औँ भारत–रूस शिखर वार्तामा पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रक्षा सहयोग, कच्चा तेल व्यापार, अमेरिकी प्रतिबन्धको प्रभाव, युक्रेन युद्धको समाधान तथा विभिन्न द्विपक्षीय सम्झौताहरू मुख्य एजेन्डा रहनेछ।
पुटिनले हैदराबाद हाउसमा मोदीसँग दिवाभोज, राजघाटमा श्रद्धाञ्जली तथा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूद्वारा राजकीय भोजमा सहभागिता जनाउने कार्यक्रम छ। उनले रूसको सरकारी प्रसारकको भारत च्यानलको शुभारम्भ पनि गर्नेछन्।
शिखर बैठकअघि दुवै देशका रक्षामन्त्रीबीच एस–४०० प्रणाली, लडाकु विमान उन्नयन तथा अन्य सैन्य खरीदबारे छलफल हुने बताइएको छ।
पुटिन शुक्रबार राति साढे ९ बजे भारतबाट प्रस्थान गर्नेछन्।





