धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले केही हतियार र फरार कैदीबन्दी बाहिरै रहे पनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रभावित नहुने स्पष्ट पार्दै शंका र भ्रम नफैलाउन आग्रह गरेका छन्। सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उनले सरकारले निर्धारित मितिमै भयरहित, स्वच्छ र स्वतन्त्र वातावरणमा चुनाव गराउने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार देशभर ४,५५२ कैदीबन्दी फरार छन् भने ७२७ थान हतियार फिर्ता आइसकेका छन्। कर्तव्यज्यान तथा जघन्य अपराधका फरारको संख्या न्यून भएको पनि उनले बताए।
भाद्र २३–२४ को घटनापछिको अव्यवस्थित अवस्थाले सुरक्षामा चुनौती पैदा गरे पनि अहिले सुरक्षा संयन्त्र लयमा फर्किएको मन्त्री अर्यालले बताए। सरकारले सुशासन, अपराध नियन्त्रण, सेवा प्रवाह र समन्वयमा विशेष प्राथमिकता दिइरहेको उनले उल्लेख गरे।
चुनाव तयारीसँग सम्बन्धित चुनौती मनोवैज्ञानिक रहेको बताउँदै उनले अराजकता नियन्त्रण तथा कानून कार्यान्वयनमा सरकार दृढ रहेको बताए। सबै दल र नागरिकलाई समन्वय, सहकार्य र जिम्मेवारीपूर्वक निर्वाचन वातावरण निर्माणमा जोड दिन आग्रह गरे।
सुरक्षा निकायको मनोबल घटाउने गतिविधि नगर्न अनुरोध गर्दै उनले संगठनमा सरुवा–बढुवामा निष्पक्षता अपनाइएको दाबी गरे। गोष्ठीबाट आएका सुझावलाई नीतिगत रूपमा कार्यान्वयन गर्न सरकारले सहयोग गर्ने उनको भनाइ थियो।
कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाह, सहसचिव कालीप्रसाद पराजुली, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की लगायतले चुनावका लागि शान्ति–सुरक्षा बलियो बनाउने आवश्यकता औंल्याए। गोष्ठीमा सुदूरपश्चिमका ९ जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरूको सहभागिता थियो।





