काठमाडौं । ग्रीन सिटी अस्पताल परिसरमा अध्यक्ष लोकबहादुर टन्डनको जीवनीमा आधारित पुस्तक ‘सङ्घर्षमय जीवन’ को अडियो संस्करण आज शनिबार एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।
अस्पताल परिसरमै सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, साहित्यप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो। अडियो पुस्तक विमोचन गर्दै अध्यक्ष टन्डनले आफ्नो जीवनका उतार–चढाव, संघर्ष र सफलताका प्रसंगहरूलाई पाठक तथा श्रोतासम्म पुर्याउन पाएकोमा खुशी व्यक्त गरे। उनले अडियो संस्करण सार्वजनिक भएपछि दृष्टिविहीन, व्यस्त जीवनशैली भएका पाठक तथा अडियो सामग्री रुचाउने सबैका लागि पुस्तक सुन्न सहज हुने बताए।
कार्यक्रमका विशेष अतिथि वरिष्ठ व्यक्तित्व तोयानाथ पौडेलले ‘सङ्घर्षमय जीवन’ केवल व्यक्तिगत अनुभवको संग्रह नभई प्रेरणादायी जीवनदर्शन भएको उल्लेख गर्दै अडियो संस्करणले पुस्तकको पहुँच अझ विस्तृत हुने विश्वास व्यक्त गरे।
अडियो पुस्तक विमोचन कार्यक्रम वरिष्ठ पत्रकार टंक पन्तले संचालन गरेका थिए। समारोह प्रविन टन्डन, कमल जिसीलगायतका व्यक्तिहरूको सक्रिय सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमको आयोजना ग्रीन सिटी अस्पतालले गरेको थियो।





