काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालमाथि राजीनामाको चर्को दबाब परेको छ। ‘जेन-जी’ अभियान्ताहरूले प्रधानमन्त्री सुशिला कार्कीलाई उनलाई बर्खास्त गर्नुपर्ने सुझावसमेत दिएका छन्। अर्यालले मंसिर १ गतेदेखि राजीनामा दिने वा बिदामा बस्ने संकेत दिएपछि अभियान्ताहरू १ गतेको प्रतीक्षामा छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्यालले सोमबार हुने सचिव बैठकमै राजीनामा घोषणा गर्न सक्ने सम्भावना बढेको छ। नियमित बैठक नभएकोले त्यसलाई अर्थपूर्ण रूपमा पनि हेरिएको छ। अहिले घर फर्किरहेका अर्यालले सम्मानजनक रूपमा पदत्याग गर्न लागेको दाबी गरिन्छ।
पछिल्ला निर्णयहरूले प्रशासनिक विवाद बढेको कारण अर्याललाई प्रशासनिक सल्लाहकार बनाउन लागिएको चर्चा चलेपछि जेन-जी अभियान्ताहरूले त्यसको विरोध गरेका छन्। राजीनामा नआए अर्को कदम चाल्ने तयारी उनीहरूको रहेको छ।
अर्यालपछि रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने तयारी गरिएको बताइन्छ। बरियतामा अगाडि रहेका गोकर्णमणि दुवाडी जेन-जी आन्दोलन दमन प्रकरण र भिजिट भिसा अनुसन्धानले विवादमा परेको कारण उनको सम्भावना टरेको छ। कुलिङ-पिरियड लबिइङमा नलागेका र सिनियरिटीका आधारमा सुमनलाई जेन-जी समूह पनि सकारात्मक देखिन्छ।
२०७७ माघ १९ मा सचिव बनेका सुमन मुख्यसचिव भए २०८३ असार २५ सम्म पदमा रहनेछन्। तथ्याङ्क पृष्ठभूमिबाट आएका उनले विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रदेशमा महत्वपूर्ण पद सम्भालेका छन्। विषयवस्तु बुझ्ने र निर्णयमा सहज मानिने भए पनि कमाण्ड पक्ष कमजोर रहेको मूल्यांकन छ।
मुख्यसचिवका प्रतिस्पर्धीमा प्रमिला बज्राचार्य शाक्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्णलगायत छन्।





