छैटौं वरीयता लिएर आज प्रचण्ड-माधवसँग मिसिँदै भीम रावल



काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावल अब प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा मिसिँदैछन्। रावल आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा औपचारिक रूपमा पार्टीमा आबद्ध हुने भएका हुन्।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल स्वयंले सम्बोधन गर्ने तयारी गरिएको छ। गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई समावेश गर्ने तयारी भए पनि अन्तिम क्षणमा ‘थप छलफल’को आवश्यकता भन्दै सो निर्णय स्थगित गरिएको थियो। तर आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायत नेतासँगको विस्तृत कुराकानीपछि रावलले पार्टीमा प्रवेश गर्ने सहमति जनाएका हुन्।

गत वर्ष पुसमा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा नेकपा एमालेले रावललाई निष्कासित गरेको थियो। स्रोतका अनुसार, रावललाई नयाँ पार्टीमा छैटौं वरीयता दिने सहमति भएको छ। साथै, उनको समूहका कार्यकर्ताहरूलाई पनि पार्टी संरचनामा उचित जिम्मेवारी दिने तयारी छ।

६ महिनाभित्र एकता महाधिवेशन गर्ने र पार्टीका नीति तथा दस्तावेज लेखनको नेतृत्व रावलले गर्ने समझदारी समेत भएको बताइएको छ। स्रोतका अनुसार, “भीम रावलजीसँग पाँच बुँदे समझदारी भएको छ, जसको विवरण आजको कार्यक्रममा सार्वजनिक गरिनेछ।”

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार