काठमाडौं फोटोग्राफर संघको नयाँ कार्यसमिति चयन, आनन्द प्रभाकर घिमिरे अध्यक्ष



काठमाडौं । काठमाडौं फोटोग्राफर संघको सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार (२०७८ कार्तिक २२ गते) काठमाडौंमा सम्पन्न अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

अध्यक्ष पदमा ३ जना र सचिव पदमा २ जनाको उम्मेदवारी परेकाले ती दुई पदका लागि निर्वाचनमार्फत चयन गरिएको थियो, भने अन्य पदमा एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका हुन्। नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष आनन्द प्रभाकर घिमिरे, उपाध्यक्ष हरी ज्ञवाली, सचिव कालीका प्रसाद रिमाल, सह–सचिव मिलन तमखु र कोषाध्यक्ष चन्द्रलाल राई चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा बासुदेव घिमिरे, केशवराज भट्टराई, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरेसहित ११ जना चयन भएका छन्।

कार्यक्रममा सफल कार्यकाल पूरा गरेका बोर्ड सदस्यहरूलाई कदरपत्र प्रदान गरिएको थियो। त्यसैगरी जेष्ठ नागरिक सम्मान जयन्तीलाल जोशी र सक्रिय महिला सम्मान ललिता खड्काले प्राप्त गर्नुभयो। विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित ‘फोटोवा’ कार्यक्रममा टप २० फोटो प्रदर्शनीमा राखिएका थिए। सोमध्ये नन्दु श्रेष्ठ प्रथम, निशान्त दाहाल द्वितीय र झक्कु रोक्का तृतीय हुनुभयो।

अधिवेशनमा वार्षिक कार्यक्रमका संयोजकहरूलाई कदरपत्र प्रदान गरिएको थियो भने सक्रिय एरिया कमिटी संयोजकलाई ट्रफी र “बोर्ड मेम्बर अफ द इयर” उपाधि प्रदान गरिएको थियो। “मेम्बर अफ द इयर” हरि ज्ञवाली र “सक्रिय एरिया कमिटी संयोजक” राजु लामालाई प्रदान गरिएको हो।

कार्यक्रममा वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत, फोटो कञ्चनका सञ्चालक दिनेशराज अर्याल, नेपाल फोटोग्राफर महासंघका अध्यक्ष प्रदीपराज वन्त लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम संघका तत्कालीन अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो।

सो अवसरमा प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, विशेष अतिथि रत्नमान आशु, मञ्जुकुमार श्रेष्ठ र राजभाइ सुवाल रहेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार