काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारीहरूबीच बढ्दो राजनीतिक गतिविधिले शैक्षिक गुणस्तरमा नकारात्मक असर परेको भन्दै दलीय क्रियाकलापमा संलग्न हुनेलाई बर्खास्त गर्न सकिने चेतावनी दिएका छन्।
आइतबार सार्वजनिक सूचनामार्फत मन्त्री पुनले प्रचलित पेसागत ऐनअनुसार शिक्षण सेवामा कार्यरत कसैले पनि राजनीतिक गतिविधि गर्न नपाउने स्पष्ट पारेका छन्। उनले भने, “राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषयमा ध्यानाकर्षण गराउँदछौं।”
पुनले दलका भ्रातृ वा शुभेच्छुक संगठनको रूपमा बनेका शिक्षक, प्राध्यापक र कर्मचारी संघ–संगठनहरूलाई मन्त्रालयले अब मान्यता नदिने निर्णय पनि गरेका छन्।
उनका अनुसार शिक्षक र कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघसहितका सबै संघ–संगठनलाई गैरराजनीतिक, स्वतन्त्र र पेशागत स्वरूपमा पुनर्गठन गर्न कानुनी व्यवस्था गरिँदै छ।






