बाबुरामको पहलमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफल सुरु



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि छलफल सुरु भएको छ। जेनजी आन्दोलनपछि बदलिँदो नेपाली राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै नयाँ र वैकल्पिक राजनीतिक दल, समूह तथा अभियन्ताबीच समग्र राजनीतिको पुनर्गठनका विषयमा छलफल सुरु गरिएको भट्टराईले जानकारी दिएका छन्।

उनका अनुसार, देशमा विश्वासिलो र बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो। छलफलमा पूर्वमाओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ, रास्वपाका उपसभापति डीपी अर्याल, मानुसी यमीलगायत सहभागी छन्।

भट्टराईको मध्यस्थतामा सुरु भएको यो संवादलाई नेपालको नयाँ राजनीतिक ध्रुवीकरणतर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार