काठमाडौं । मलेसियाको रोजगारी व्यवस्थापनका नाममा बढ्दै गएको सिन्डिकेट प्रवृत्ति विरुद्ध वैदेशिक रोजगारी व्यवसायीहरूले सामूहिक विरोध जनाएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा गठित संघर्ष समितिको आयोजनामा मंगलबार काठमाडौंमा भएको बृहत् भेलामा व्यवसायीहरूले हातमा कालोपट्टी बाँध्दै ‘नो सिन्डिकेट’ व्यानरसहित प्रतिबद्धता जनाए।
भेलामा वरिष्ठ व्यवसायी हेमबहादुर गुरुङ, सल्लाहकार नवराज केसी, पूर्वअध्यक्षहरू तिलक रानाभाट, विमल ढकाल, रोहन गुरुङ, लोकतान्त्रिक संघका अध्यक्ष दीपक थापा, प्रगतिशील मञ्चका अध्यक्ष जनक रावल, गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीलगायतको उपस्थिति थियो।

संघका अध्यक्ष भुवनसिंह गुरुङले संघको मुख्य एजेन्डा नै सिन्डिकेटविरुद्धको संघर्ष रहेको बताउँदै भने, “ढुक्क हुनुस्, जताबाट तौलिए पनि वर्तमान कार्यसमिति फस्दैन, सिन्डिकेट लाग्दैन।” उनका अनुसार १,०६२ वैदेशिक रोजगार व्यवसायीमध्ये अझै २४५ जनाको प्रतिबद्धता बाँकी रहेको र सबैको हस्ताक्षरसहितको प्रतिबद्धता पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइने तयारी भइरहेको छ।
पूर्वअध्यक्ष विमल ढकालले नेतृत्वमा प्रलोभन आउन सक्ने भएकाले सचेत रहन आग्रह गरे। रोहन गुरुङले मलेसियाले तोकेको मापदण्ड अनुसार व्यवसायीबीच एकता जरुरी रहेको बताए।
लोकतान्त्रिक संघका अध्यक्ष दीपक थापाले ८–९ जनाले हजारौं व्यवसायीको पेटमा लात हान्ने प्रवृत्तिविरुद्ध एकजुट हुन आग्रह गरे। जनक रावलले सिन्डिकेट लगाउने प्रयास गर्नेलाई सडकमा ल्याउने चेतावनी दिए भने धनलाल जैसीले व्यवसायी र कामदारको हितका लागि प्रतिवाद अपरिहार्य रहेको बताए।
संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले सिन्डिकेटको नाममा उठाएको रकम तीन दिनभित्र फिर्ता गर्न चेतावनी दिए। वरिष्ठ व्यवसायी हेमबहादुर गुरुङले लाइसेन्सका आधारमा सबै व्यवसायी बराबर रहेको भन्दै फुट ल्याउने प्रयास अस्वीकार्य भएको बताए।
कार्यक्रम संघर्ष समिति संयोजक देवकुमार खोखालीको सभापतित्वमा सम्पन्न भयो। महासचिव महेशकुमार बस्नेतले सञ्चालन गरेका उक्त भेलामा व्यवसायीहरूले एक स्वरमा घोषणा गरे “सिन्डिकेट हटाओ, व्यवसायी बचाओ।”





