काठमाडौँ । अरब सागरमा बनेको मोन्था चक्रवात कमजोर बन्दै गएको छ। यसको प्रभाव नेपालमा प्रत्यक्ष नपरे पनि त्यसबाट उत्पन्न भएको न्यून चापीय प्रणाली र पश्चिमी वायूका कारण अहिले देशभर मौसम बद्लिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार नेपालभर आंशिकदेखि सामान्य बदली रहनेछ। बिहानैदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न भागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने, मधेस लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी स्थानमा मौसम सफा रहनेछ।
त्यस्तै, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि यी प्रदेशका हिमाली र उच्च पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ भने अन्य ठाउँमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले यात्रु तथा कृषकलाई सावधानी अपनाउन आग्रह गर्दै, विशेष गरी हिमाली भूभागमा तापक्रम घट्ने र हिउँ पर्न सक्ने भएकाले आवश्यक तयारी गर्न सुझाव दिएको छ।





