काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ, भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली मात्र रहनेछ। साथै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति देशका अधिकांश पहाडी भू-भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र लुम्बिनी प्रदेशसहितका अन्य प्रदेशका उच्च भू-भागका एक–दुई ठाउँमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ।
मौसमविद्हरूका अनुसार यो प्रणालीको प्रभाव आगामी एक-दुई दिनसम्म कायम रहने र उच्च भू-भागका बासिन्दालाई चिसोबाट सचेत रहन आग्रह गरिएको छ।





