काठमाडौं । गृह मन्त्रालयले एकैपटक ठूलो जनशक्ति हेरफेर गर्दै देशभरका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र मन्त्रालय मातहतका सहसचिव गरी ३६ जनाको सरुवा गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार, मन्त्रालय अन्तर्गतका दुई विभागका महानिर्देशकहरू समेत सरुवामा परेका छन्। यस सरुवाले प्रशासनिक तहमा उल्लेखनीय चलायमानता ल्याएको मानिएको छ।
निर्णय अनुसार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबादुर रायमाझीलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई भने गौतमबुद्ध विमानस्थलको अध्यागमन प्रमुख का रूपमा पठाइएको छ।
त्यस्तै, गृह मन्त्रालयका सहसचिव वासुदेव घिमिरेलाई झापाको प्रजिअमा सरुवा गरिएको छ भने झापाका प्रजिअ गोपालकुमार अधिकारी लाई काभ्रेपलाञ्चोक पठाइएको छ।
सहसचिव गोगनबहादुर हमाल लाई बर्दियाको प्रजिअमा पठाइएको छ भने बर्दियाका प्रजिअ सुरेन्द्र पौडेल सिरहामा सरुवा भएका छन्।
यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङको प्रजिअमा पठाइएको छ। मोरङका प्रजिअ इन्द्रदेव यादव महोत्तरी सरुवा भएका छन्।
त्यस्तै, गृहको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ललितपुरको प्रजिअमा पठाइएको छ भने ललितपुरका प्रजिअ सुमन घिमिरे लाई सोही विभागमा पदस्थापन गरिएको छ।
गृह मन्त्रालयको सूचनाअनुसार, यस सरुवामा रुपन्देही, कैलाली, नवलपरासी, महोत्तरी, दोलखा, पर्सा, उदयपुर, डडेलधुरा, लमजुङ, बाँके, बर्दिया, अर्घाखाँची, रौतहट, कपिलवस्तु, सिन्धुली, अछाम, गुल्मी, सुनसरी, ललितपुर, भक्तपुर, मोरङ, झापा, काभ्रे, बारा, धनकुटा, धनुषा, मकवानपुर, गोरखा र सर्लाही लगायतका जिल्लाका प्रजिअहरूको पनि सरुवा गरिएको छ।
यस सरुवालाई प्रशासनिक सन्तुलन र क्षेत्रीय प्रभावकारिता बढाउने उद्देश्यका रूपमा हेरिएको छ। गृह मन्त्रालयले निकट भविष्यमा थप आन्तरिक सरुवाको तयारी भइरहेको पनि संकेत गरेको छ।





