काठमाडौं । इजरायल–हमास द्वन्द्वमा मारिएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा ल्याइँदैछ।
सरकारका तर्फबाट प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमै उपस्थित रहि औपचारिक श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरिएको छ।
हमासद्वारा अपहरण, डीएनए परीक्षणपछि पुष्टि
गत वर्ष असोज २३ गते हमास समूहले किबुत्ज एलुमिम क्षेत्रमा आक्रमण गर्दा जोशी अपहरणमा परेका थिए। केही समयपछि सार्वजनिक भएको बन्दी अवस्थाको भिडियोमा उनी देखिएको दाबी भएको थियो।
हालै युद्धविराम सम्झौतासँगै बन्दी साटासाट प्रक्रिया चल्दा हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।
डीएनए परीक्षणपछि शव विपिनकै भएको पुष्टि भएसँगै नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो।
इजरायलमा सैनिक सम्मान, कफिनमा नेपाली झण्डा
आइतबार इजरायलको तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरिएन विमानस्थलमा विपिनलाई सैनिक सम्मानसहित अन्तिम श्रद्धाञ्जली दिइएको थियो।
उनी रहेको कफिनमा नेपाली झण्डा ओढाइएको दृश्यले नेपाली समुदायलाई भावुक बनाएको छ।
७ अक्टोबरको हमला : १० नेपाली मारिएका थिए
७ अक्टोबर २०२३, इजरायल–हमास युद्ध सुरु भएको दिन, किबुत्ज एलुमिम क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो।
उक्त हमलामा १० नेपाली मारिए, केही घाइते भए, केही भाग्न सफल भए, तर विपिन जोशी बेपत्ता भएका थिए।
सहपाठीहरूको भनाइअनुसार, हमलाको बेला उनले ग्रेनेड बाहिर फ्याँक्न खोज्दै वीरता प्रदर्शन गरेका थिए। त्यसपछि उनीबारे निश्चित जानकारी लामो समयसम्म नआएपछि परिवार र नेपाली पक्षले निरन्तर खोजी दबाब दिइरहेका थिए।





