धनुषाका ६ पालिकाका कर्मचारी र शिक्षकले चाडपर्वमा समेत तलब पाएनन्



जनकपुरधाम । धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षकले तलब र सुविधा पाउन सकेका छैनन्। मिथिला, क्षीरेश्वरनाथ, कमला, हंसपुर नगरपालिका तथा औरही गाउँपालिकामा अहिलेसम्म नगरसभा नबसी बजेट पारित नहुँदा कर्मचारी र शिक्षक चाडपर्वको बेला समेत आर्थिक संकटमा परेका छन्।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलका अनुसार ती पालिकामा राजनीतिक दलहरूबीच योजनाको बाँडफाँड र आर्थिक स्रोतको व्यवस्थापनमा सहमति नजुटेका कारण नियमित वार्षिक अधिवेशन हुन सकेको छैन। “कुनै एक दलको स्पष्ट बहुमत नभएकाले हरेक वर्ष बजेट विनियोजनमा निकै विवाद हुन्छ,” मण्डलले भने, “सभामुख चयनदेखि योजना छनोटसम्मकै विषयले पालिकामा काम अवरुद्ध भएको छ।”

उनले अन्य केही पालिकामा पनि विवाद भए तापनि समन्वय समितिको पहलमा नगरसभा सम्पन्न हुन सफल भएको बताए। तर यी ६ पालिकामा पटक–पटक छलफल भए पनि निर्णयसम्म पुग्न नसकिएकोले सेवा प्रवाह र वित्तीय कार्यसम्पादन पूर्णरूपमा अवरुद्ध भएको छ।

स्थानीय शासन ऐनअनुसार नगर/गाउँ परिषद्ले बजेट स्वीकृत नगरेसम्म तलब–भत्ता, विकास निर्माण वा कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था रहेको छ। सोही प्रावधानका कारण कर्मचारी तथा शिक्षकले नियमित पारिश्रमिक पाउन नसकेको मण्डलले स्पष्ट पारे।

तलब रोकिनुका कारण सरकारी सेवामा रहँदै आएका कर्मचारी आर्थिक अभावमा परेको गुनासो गरिरहेका छन्। स्थानीय तहमा सेवा प्रवाहमा समेत असर परेको बताइँदैछ। चाडपर्वको बेला परिवार धान्नसमेत कठिनाइ भएको एक कर्मचारीले गुनासो गर्दै भने, “काम गरेका छौं, तर तलब कहिले आउँछ भन्ने पत्तो छैन। घरमा खर्च चलाउनसमेत समस्या परेको छ।”

स्थानीयवासीहरूले राजनीतिक दलहरूको आन्तरिक सत्ता द्वन्द्वले सार्वजनिक सेवामा प्रत्यक्ष असर पारेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले शीघ्र नगरसभा आह्वान गरी कर्मचारी र शिक्षकलाई तलब–सुविधा उपलब्ध गराउन माग गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार