चितवनमा मुग्लिन-नारायणगढ सडक खण्ड बन्द, यात्रुलाई सचेत रहन आग्रह



चितवन । शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डमा सवारीसाधन सञ्चालन रोकिएको छ।

चितवन ट्राफिक प्रहरीले तुइन खोलामा बाटो एकतर्फी मात्र खुला भए पनि ढुंगा खसिरहने क्रम नरोकिएपछि शनिबार बिहानैदेखि सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाएको हो।
फेसबुकमार्फत जानकारी दिँदै प्रहरीले भनेको छ, “तुइन खोलामा पहिरो र अन्य केही स्थानमा ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाललाई राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ।”

सडक डिभिजन भरतपुरले समेत यस सडक खण्डमा वर्षासँगै जोखिम बढेकाले अति आवश्यक अवस्थामा मात्र यात्रा गर्न सुझाव दिएको छ।
डिभिजनले विज्ञप्तिमार्फत भन्यो, “सवारी आवागमन सञ्चालन भए पनि पानी परिरहेको र जोखिम बढेको कारण अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन अनुरोध गर्दछौं। यात्रा गर्नुपर्ने भए सम्बन्धित निकायसँग समन्वय गर्नुपर्छ।”

मुग्लिन–नारायणगढ सडक देशकै महत्वपूर्ण जीवनरेखा मानिन्छ। निरन्तर वर्षा र पहिरोका कारण बारम्बार अबरुद्ध हुने यो खण्ड बन्द हुँदा यात्रु अलपत्र पर्नुका साथै मालवाहक सवारीसाधनलाई समेत ठूलो असर पर्ने गरेको छ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार