काठमाडौं उपत्यकासहित देशभर भारी वर्षाको सम्भावना



काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले आज पनि मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ । त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।

गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्ने देखिएकोले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, स्थानीय प्रशासनले बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक र गल्छी–स्याङ्जा सडकमा अवरोध हुने सम्भावना रहेको भन्दै रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार