ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना उच्चपदस्थ व्यक्तिहरूको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ। जेन–जी आन्दोलन दमन प्रकरणबारे छानबिन गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाइएको हो।

गृह मन्त्रालयले पासपोर्ट रोक्का गरिएका व्यक्तिहरूलाई मन्त्रालयको अनुमति विना काठमाडौं उपत्यकाबाहिर समेत जान नपाउने गरी प्रतिबन्ध लगाएको छ।

पासपोर्ट रोक्का हुनेहरूको सूची

  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

  • तत्कालीन गृहमन्त्री रमेश लेखक

  • तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी

  • राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा

  • काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल

गत भदौ २३ गतेको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो। सो घटनापछि सरकारको भूमिकाबारे व्यापक आलोचना भएको थियो।

प्रधानमन्त्री ओलीले आफूले गोली चलाउन निर्देशन नदिएको दाबी गरे पनि गृह मन्त्रालयले त्यसबेला ‘जसरी पनि भीडलाई संघीय संसद् भवनतर्फ जानबाट रोक्नु’ भन्ने आदेश दिएको तथ्य सार्वजनिक भएको थियो। त्यसै आधारमा तत्कालीन सिडिओ छवि रिजालले गोली चलाउन आदेश दिएका थिए।

छानबिन आयोगको प्रतिवेदनसँगै सरकारले जिम्मेवार ठहरिएका व्यक्तिहरूमाथि यो कडा कदम चालेको हो।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार