काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो। यसअघि तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसको दबाबका कारण उनलाई जिम्मेवारीबाट हटाइएको थियो। केसी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो।
सोही कारण उनले एमाले–कांग्रेस गठबन्धन सरकारमा राम्रो पोष्टिङ पाएका थिएनन् र हाल प्रदेश समन्वय विभागमा कार्यरत थिए।
२०७९ साल चैत १२ गते केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। दुलाल र भण्डारीको बयानपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू समेत संलग्न रहेको खुलासा भएको थियो।
यसअघिका सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि सीआईबी कार्यवाहक प्रमुखको भरमा चलिरहेको थियो।





