मुग्लिन-नारायणगढ सडक अझै अवरुद्ध, यात्रु दुई रातदेखि अलपत्र



चितवन । अस्ति शुक्रबार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै पनि सञ्चालनमा आउन सकेको छैन। मुग्लिन नजिकै तुईन खोलामा पुल निर्माणका लागि पहाड काटिएको स्थानमा पटक–पटक पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिलो दिन खसेको पहिरो हटाउन नपाउँदै हिजो बिहान फेरि ठूलो पहिरो खसेपछि सडक डिभिजन कार्यालय भरतपुरले तत्काल खुलाउन नसकिएको जनाएको छ। लगातार पहिरो खसेका कारण मुग्लिन हुँदै आउने–जाने गाडी सडकमै रोकिएका छन्। गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातदेखि अलपत्र पर्न पुगेका छन्।

कोही यात्रु बसमै र कोही खुलेआम सडकमै रात कटाउन बाध्य भएका छन् भने धेरैजना भोकै बसिरहेका छन्। मुग्लिन प्रहरीले आज बिहानदेखि सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ, तर पहिरो ठूलो भएकाले अझै केही समय लाग्ने अनुमान गरिएको छ।

सडक डिभिजन कार्यालयले तत्कालै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै नौबिसे–दामन–हेटौंडा तथा कालिगण्डकी करिडोरअन्तर्गत मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार