काठमाडौँ । जेनजी आन्दोलनका क्रममा महानगरले आगो नियन्त्रणका लागि दमकल पठाएन भन्ने आरोपलाई काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले असत्य भनेका छन्।
बिहीबार बागदरबारमा पत्रकार सम्मेलन गर्दै पाण्डेले आन्दोलनकारीले ढुंगामुढा गरेकाले दमकल तत्कालै परिचालन गर्न नसकिएको स्पष्ट पारे। उनका अनुसार २४ गते साँझ बौद्धबाट निस्किएको दमकल चाबहिल पुग्दा नै आन्दोलनकारीले ढुंगामुढा गरेका थिए। नेपाली सेनाको गाडीसमेत ढुंगामुढाको शिकार बनेको उनले बताए।
‘सवा ८ बजेदेखि पौने १० सम्म हामीले सिंहदरबारमा दुई वटा दमकल लगेर निभाएका थियौँ,’ पाण्डेले भने, ‘तर ढुंगामुढा र तोडफोडका कारण दमकल अगाडि बढ्न सकेन। सुरक्षा प्रत्याभूति भएपछि मात्रै काम गर्न सम्भव भयो।’
उनका अनुसार नेपाली सेना सुरक्षामा खटिएपछि दमकललाई सुरक्षितरूपमा विभिन्न स्थानमा परिचालन गर्न सकियो। भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत र सिंहदरबारमा पनि दमकल लगिएको उनले दाबी गरे।
‘महानगरले दमकल पठाएन भन्ने कुरा गलत हो। हामीले कुनै हालतमा ढिलाइ गरेका छैनौँ,’ उनले स्पष्ट पारे, ‘दमकल सुरक्षित रहेर मात्र प्रयोग गर्न सकिने भएकाले सुरक्षाको आधारमा परिचालन गरिएको हो।’
महानगर प्रहरीले घाइतेको उपचारदेखि खानपान व्यवस्थासम्ममा पनि सक्रिय भूमिका निर्वाह गरेको पाण्डेले बताए। उनका अनुसार उपत्यकामा पाँच वटा दमकल परिचालन गरिएको छ।





