काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता सम्पन्न भएको छ ।
वार्ताका क्रममा प्रधानमन्त्री मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने आश्वासन दिएका छन् । यसबारे जानकारी उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् सार्वजनिक गरेका हुन् ।
‘शान्ति तथा स्थिरता कायम गर्न उहाँले गरिरहेको प्रयासप्रति भारतको अटल समर्थन पुनः व्यक्त गरेँ,’ मोदीले लेखेका छन् ।
यसअघि प्रधानमन्त्री पदमा निर्वाचित भएलगत्तै मोदीले कार्कीलाई बधाई दिएका थिए । आज भएको टेलिफोन वार्तालाई उनले आत्मीय संवादका रूपमा वर्णन गरेका छन् ।
कुराकानीका क्रममा मोदीले जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग आत्मीय कुराकानी भयो । हालैको दु:खद घटनामा ज्यान गुमाउनेप्रति हार्दिक समवेदना व्यक्त गरेँ,’ मोदीले एक्समार्फत भनेका छन् ।
सोही अवसरमा उनले आगामी असोज ३ गते पर्ने नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसमा सम्पूर्ण नेपाली जनताप्रति शुभकामना पनि व्यक्त गरेका छन् ।





