प्रधानमन्त्री कार्की र मोदीबीच आज टेलिफोन संवाद हुने



काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा टेलिफोन संवाद केन्द्रित हुने जनाइएको छ ।

यसअघि बुधबार नै कुराकानी हुने भनिए पनि स्थगित भएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार प्रधानमन्त्री कार्कीले मंगलबारको मन्त्रिपरिषद् बैठकमै मोदीसँग टेलिफोन संवाद हुने बताएका थिए, तर बुधबार तोकिएको संवाद अज्ञात कारणले रोकिएको हो ।

यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेट गरी मोदीको सन्देश हस्तान्तरण गरेका थिए । कार्की प्रधानमन्त्री बनेपछिको यो पहिलो उच्चस्तरीय कूटनीतिक संवाद हुने भएकाले महत्त्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार