आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले देशभर मौसमी गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पनि देखिएको छ।

यसको असरले अहिले देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भएको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले संभावित भारी वर्षाले बाढी, पहिरो तथा जलमग्नताको जोखिम बढाउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार