काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्क्रिय भएका छन्। प्रतिनिधि सभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भएपश्चात निष्क्रिय हुने विधेयकको संख्या ३० पुगेको हो। तीमध्ये २१ वटा सरकारी विधेयक र २ वटा गैरसरकारी विधेयक हुन्।
४ मंसिर २०७९ को निर्वाचनबाट बनेको प्रतिनिधि सभामा उत्पत्ति भएका जम्मा २३ वटा विधेयक निष्क्रिय बनेका छन्। त्यस्तै, राष्ट्रिय सभामा उत्पत्ति भएका ७ वटा विधेयक पनि प्रतिनिधि सभा विघटनसँगै निष्क्रिय भएका हुन्। ती विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन अवस्थामा थिए।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभा विघटन भएमा त्यहाँ विचाराधीन वा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक निष्क्रिय हुने व्यवस्था संविधानमै भएको स्पष्ट पारे। संविधानको धारा १११ को उपधारा १० मा “प्रतिनिधि सभा विघटन भएमा वा कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ” भन्ने प्रावधान राखिएको छ।





