नेपाल मदिरा व्यवसायी संघ, काठमाडौंको अध्यक्षमा रुप तामाङ निर्वाचित



काठमाडौं, भदौ १४ ।  नेपाल मदिरा व्यवसायी संघ, काठमाडौंको अध्यक्षमा रुप तामाङ निर्वाचित भएका छन्। शनिबार सम्पन्न दशौँ वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

संघको नयाँ नेतृत्वमा अध्यक्ष तामाङसहित उपाध्यक्ष विश्वेश्वर आचार्य, महासचिव सुदन थापा मगर, कोषाध्यक्ष समिक्षा अर्याल, सचिव सुरज कार्की र सह–कोषाध्यक्ष राजन चापागाई चयन भएका छन्। त्यस्तै, सदस्यमा किशोर वस्नेत, सन्तबहादुर तामाङ, प्रकाश नेपाली, राजु मल्ल, ठाकुर प्रसाद धरेल र रमेश ढुंगाना निर्वाचित भएका छन्।

अधिवेशनमा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले प्रमुख आतिथ्य ग्रहण गरेका थिए। कार्यक्रममा उनले उधारो कारोबारले व्यवसायीलाई समस्या पार्ने भएकाले नगदमै कारोबार गर्न आग्रह गरे। साथै, उत्पादनमा नाफा हुने गरी उचित मार्जिन कायम गर्नुपर्ने सुझावसमेत दिए।

नवनिर्वाचित अध्यक्ष तामाङले मदिरा उत्पादकदेखि वितरक र खुद्रा बिक्रेता सबैको हित हुने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार