संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति



काठमाडौ‌ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति जनाएको छ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयक दफावार छलफलको क्रममा यसबारे सहमति भएको हो। प्रतिनिधिसभाबाट पारित गर्दा कुलिङ अफ पिरियड नराखिएको भन्दै संशोधन गर्नुपर्ने आवाज उठेको थियो।

छलफलमा एमाले बाहेकका सांसदहरूले दुई वर्षको कुलिङ अफ पिरियड राख्नुपर्ने धारणा राखेका थिए भने एमाले सांसदहरूले अवधि घटाउनुपर्ने मत व्यक्त गरेका थिए।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारले यसबारे छुट्टै अडान नराखेको बताउँदै, दुई वर्षको प्रावधानले कर्मचारीलाई अप्ठेरो नपर्ने उल्लेख गरिन्। समितिकी सभापति तुलसा कुमारी दहालले भाषा मिलाएर अन्तिम प्रतिवेदन तयार पारिने र आइतबार पनि छलफल जारी रहने जानकारी दिइन्।

राष्ट्रियसभाबाट पारित भएमा यो विधेयकलाई प्रतिनिधिसभाले भाद्र १९ गते पारित गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार